२०५ औँ भानुजयन्तीको अवसर पारेर विविध कार्यक्रमहरूको आयोजना

Published Date: July 13, 2018


पाठशाला नेपाल फाउन्डेसनले २०५ औँ भानुजयन्तीको अवसर पारेर विविध कार्यक्रमहरूको आयोजना गरेको छ । नेपाली साहित्यिक क्लबद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा रचना गरिएका विभिन्न कविताहरू र रामायणका श्लोकहरू वाचन गरिएका थिए । काठमाडौको नयाँ बानेश्वर स्थित पाठशालामा कवि एवम् समालोचक डा . रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि डा. ज्ञवालीले भानुभक्तको जीवनसङ्घर्ष, उनले नेपाली समाजमा दिएको योगदान र आजका विद्यार्थीहरूले उनीबाट लिनुपर्ने प्रेरणाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । उक्त अवसरमा कवि ज्ञवालीले भानुभक्तको भाइबहिनीलाई पत्र शीर्षकको कविता वाचन गर्नुभएको थियो भने सङ्गीत प्रशिक्षक दामोदर अधिकारी र नेपाली साहित्य क्लबका संयोजक मधुस न्यौपानेले रामायणका केही श्लोकहरू वाचन गर्नुभएको थियो । भानुजयन्तीको अवसरमा असार २४ गते एक घन्टाको समय दिएर विद्यार्थीहरूद्वारा लेखिएका उत्कृष्ट कविताहरू सो कार्यक्रममा वाचन गरी पुरस्कृत गरिएका थिए । नेपाली विभागले यस अगाडि नै सम्पन्न गरेका कथालेखन र अनुच्छेदलेखन कार्यक्रमका विजयी विद्यार्थीहरूलाई समेत उक्त कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । नेपाली विभागका प्रमुख धर्म पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन कक्षा सातमा अध्ययनरत छात्राहरू मिनम पोखरेल र निरेशा श्रेष्ठले गरेका थिए । ललितपुरको बागडोल स्थित पाठशालामा भने जनकवि अर्जुन पराजुलीको प्रमुख आतिथ्य र विद्यालयका प्राचार्य विश्वनाथ कँडेलको सभापतित्वमा उक्त कार्यक्रम सम्म्पन्न भएको थियो ।