लागुपदार्थ दुव्र्यसन तथा यसका दुष्परिणामहरू – सुनिती मण्डल

Published Date: July 27, 2018


“सुरू सुरूमा त लागुपदार्थ स्वर्गको अनुभूति दिन्छ तर पछि मात्रै थाहा हुन्छ कि लागुपदार्थ स्वर्गको भेषमा नर्कको भेषमा नर्कको बाटो हो ।”

कुनै पनि औषधी वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्नुलाई लागुपदार्थ सेवन भनिन्छ । कति अवस्थामा लागुपदार्थ गाँजा, चरेस, अफिम, कोकिन आदिको रूपमा हुन्छन् । नत्र चिकित्सकको परमर्शमा मात्र लिनुपर्ने औषधीको दुरूपयोग हुने अवस्था पनि देखिन्छ । जहाँ औषधीको दुरूपयोग हुने अवस्था पनि देखिन्छ जहाँ औषधी सही बिरामीलाई सही मात्रामा दिए अमृत बन्छ भने यसको विपरीत प्रयोग गरियो भने विष बन्छ । यिनै पदार्थहरूको सेवनले मानवमा यसको लत बस्न जान्छ र त्यस बिना बाँच्न सक्दैन अनि ऊ लागुपदार्थ सेवनकर्ता बन्छ ।

आजको युगमा लागुदार्थ दुव्र्यसन संसारभरको एक ठूलो समस्या बनेको छ । लागुपदार्थ सेवनले आजको युगमा विशाल रूप लिएको छ र त्यसले संसारको विकास र उन्नतिमा रोक लगाउँदै गएको छ । आज विश्वमा साडे दुई करोड मानिसहरू लागुपदार्थमा फसेर यसको गुलाम बनी जीवन काट्दै छन् । नेपालमा भने अहिले १६ वर्षभित्रका ५०—६० हजार युवायुवती लागुपदार्थ सेवनको चक्रमा फसिसकेका छन् । विभिन्न खोज र अनुसन्धान गर्दै यसतर्फ आकर्षित हुन्छन् र आजीवन आफ्नो गलत कदमको सजाय काट्छन् ।

लागुपदार्थ दुव्यसनजस्तो कुलतमा आज लाखौँ मानिसहरू फसेका छन् । विभिन्न मान्छेहरू आ—आफ्नै कारणले पनि यसमा फस्ने गरेको पाइन्छ । लागुपदार्थमा धेरै मानिस खराब सङ्गतको लहैलहैमा लागेर फस्छन् ÷ कति मानिस भने एकपटक स्वाद लिने उत्सुक्तामा सेवन गर्छन् र जीवनभर त्यसको सिकार बन्न पुग्छन् किनभने उनीहरू लागुपदार्थ लिन चाहेर वा नचाहेर विवश हुन्छन् । मानिसहरू आफ्नो जीवनबाट वाक्क मानेर नयाँ अनुभूतिका लागि पनि लागुपदार्थ सेवनमा लाग्छन् । यदि जीवनमा केही दुःख छ भने जस्तै परिवारबाट मायाको अभाव, परिवार र  साथीभाइ बिच झैझगडा, असफल कार्यहरू, प्रेममा असफलता आदि धेरै मानिस क्षणिक सुखका लागि लागुपदार्थको ढोका ढकढकाउँन पुग्छन् र जीवनभर दुःखमा बाँच्छन् । आजको युगमा लागुपदार्थ आफूलाई विकासित भएको देखाउन पनि सेवन गरिन्छ र कैयौँ व्यक्ति आफूले मनपराउने व्यक्तिको नक्कल गरेर लागुपदार्थ सेवनमा लाग्छन् । कतिपय घरपरिवारमा त बुबा आफैँ लागुपदार्थको रमरममा डुबेका हुन्छन् र छोरा—छोरीलाई लागुपदार्थ दुव्र्यसन गलत हो भनेर सम्झाउँदै हुन्छन् तर छोराछोरी सुनेको भन्दा देखेको कुरा सिक्छन् । लागुपदार्थ सेवनका लागि नराम्रा मानिसले राम्रा मानिसलाई बिगार्छन् किनभने यसको किबेचमा  तिनीहरूले ठूलाठूला रकम कमाउछन् ।

लागुपदार्थ सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्छ् । यसको सेवनले पढाइ र काममा रूचि घटाउँदै जान्छ । मानिस बिस्तारै आफ्ना कलात्मक शैलीहरू र इज्जत गुमाउँदै जान्छन् । लागुपदार्थ सेवकहरूको मनमा केवल लागुपदार्थ खेलिरहेको हुन्छ र उनीहरू त्यही लागुपदार्थलाई जुटाउनका लागि चोरी, डकैती, लुटपाट हुँदै मारकाट्सम्मका जघन्य अपराध गर्न पनि पछि पर्दैनन् । लागुपदार्थ सेवनले घर परिवारमा झैझगडा बढ्दै जान्छ र अशान्ति मौलाउँछ । अझ सेवकको परिवारको स्तर र इज्जत नै समाजमा डुब्छ र उनीहरूसँग बोलचाल गर्ने कसैको रूचि हुँदैन । लागुपदार्थ किन्दा घरमा आर्थिक समस्याहरू पनि उत्पन्न हुन थाल्छन् । देशका लागि पनि मान्छे दुव्र्यसनी बन्दा दुःखको अवस्था हुन्छ किनभने देशले विकासका लागि चाहिने युवायुवती गुमाउँछ र देशमा सुख र शान्ति हराउँछ । मान्छे यसको सेवनमा एकहोरो बन्दै जान्छ र केहीमा पनि रूचि देखाउँदैन । दुव्र्यसनीहरूमा टिबी, एचआइभी एड्स श्वासप्रश्वासमा समस्या, हृदयघात, उच्च रक्तचाप र अन्य विभिन्न किसिमका शारीरिक तथा मानसिक रोगहरू देखा पर्दछन् ।

लागुपदार्थले परिणामतः कसैलाई फाइदा गर्दैन । सेवनकर्ताको मृत्युको ढोका खोलिदिन्छ भने परिवार, समाज र राज्यले पनि आफ्ना होनहार सदस्य गुमाउँछ । यसबाट बच्न र फसिसकेकालाई उन्मुक्ति दिलाउन हामीले आ—आफ्नै क्षेत्रबाट जागरूक हुनु जरूरी छ । प्रथमतः ‘म लागुपदार्थ सेवन गर्दिनँ’ भनी आफैँसँग  प्रतिबद्वता व्यक्त गर्नुपर्छ र दुव्र्यसनीहरूलाई सही तवरले पूर्व जीवनमा अवतरण गराउन दक्ष परामर्शदाताबाट सही मार्ग निर्देशन हुन जरुरी छ ।

एकै पटक दुव्र्यसनी हटाउन मिल्दैन तर घटाउन भने अवश्य मिल्छ । क्रमशः बाटो बिराएकाहरूलाई परामर्श गर्दै पूर्व जीवनमा फर्काउँदै लैजाने र लागुपदार्थमा सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने हो भने सबैको भविष्य सुखमय बन्छ । स्वास्थ्य छ त सबै छ, स्वास्थ्यै छैन भने केही पनि छैन । त्यसैले भनिएको हो—‘स्वास्थ्य नै धन हो ।

नोट : लागुपदार्थ दुव्र्यसन विरुद्धको कार्यक्रममा ललितपुर प्रहरीद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल निबन्ध ।

          सुनिती मण्डल

                                                               बागडोल, ललितपुर

                                                                कक्षा : १०